आजकलका स्मार्टफोनहरूमा १२ जीबी १६ जीबी वा २४ जीबीसम्म र्याम देखिनु सामान्य जस्तै भइसकेको छ । यस्तो क्षमता कुनै समय उच्च-स्तरीय कम्प्युटरहरूमा सीमित थियो ।
फोनहरूमा ल्यापटपभन्दा बढी र्याम हुनुको मुख्य कारण मेमोरी व्यवस्थापनको फरक पर्फर्मेन्स हो । विन्डोज र म्याकओएस जस्ता डेस्कटप अपरेटिङ सिस्टमहरू स्वाप स्पेसका लागि डिस्कमा धेरै निर्भर हुन्छन् । आवश्यकता अनुसार र्यामको सामग्रीलाई स्टोरेजमा सार्छन् ।
फास्ट एसएसडीको कारणले यो प्रक्रिया तुलनात्मक रूपमा प्रभावकारी हुन्छ । पीसीहरूले स्पिड र सघन कार्यभारका लागि डिजाइन गरिएको हाई-पर्फरमेन्स डीडीआर४ वा डीडीआर५ र्याम प्रयोग गर्छन् । सक्रिय कुलिङ सिस्टमसँग मिलेर यी मसिनहरूले कार्यसम्पादन नघटाई मेमोरीको प्रेसरलाई कुशलतापूर्वक ह्यान्डल गर्न सक्छन् ।
र्यान्डम एक्सेस मेमोरी-र्याम (RAM) र स्टोरेज स्वाप दुवै कम्प्युटर डिभाइसले प्रयोग गर्ने मेमोरीका प्रकारहरू हुन् । तर तिनीहरूको उद्देश्य र विशेषता फरक हुन्छ । र्याम फास्ट र अस्थायी मेमोरी हो, जुन सक्रिय डेटा र प्रोग्राम निर्देशहरूका लागि प्रयोग गरिन्छ । जबकि स्वाप स्पेस सामान्यतः स्टोरेज (हार्ड ड्राइभ वा एसएसडी) मा हुने ढिलो र स्थायी स्टोरेजको क्षेत्र हो, जसले र्याम भरिएपछि त्यसको विस्तारको रूपमा काम गर्छ ।
अर्कोतर्फ एन्ड्रोइड स्टोरेज स्वापहरूबाट बच्नका लागि बनाइएको थियो । किनभने मोबाइल फ्ल्याश मेमोरी निरन्तर स्वापका लागि त्यति छिटो वा टिकाउ हुँदैन । यसका अतिरिक्त फोनहरूमा सक्रिय कुलिङका लागि ठाउँ समेत नहुने भएकाले ब्
ाट्री लाइफ बचाउन कम पावर र्याममा निर्भर हुन्छन् । एक सहज पीसी-जस्तो मल्टीटास्किङ अनुभव प्राप्त गर्न एन्ड्रोइडलाई एपहरू किल गर्ने बिन्दुमा पुग्नबाट बच्न थप भौतिक र्याम हुनु फाइदाजनक हुन्छ ।
अचेलका हाम्रा स्मार्टफोनहरू प्राथमिक कम्प्युटिङ उपकरण बनिसकेका छन् । हामीहरू गेम, भिडिओ कल, क्यामेरा र सामाजिक सञ्जालबिच तत्काल स्विच होस् भन्ने चाहना राखिरहेका हुन्छौँ । फोनहरूले मेसेज सिङ्कदेखि फिटनेस ट्र्याकिङ र आईओटी उपकरण नियन्त्रणसम्मका ब्याकग्राउन्डका अतिरिक्त कार्यहरू पनि एकैसाथ ह्यान्डल गरोस् भन्ने अपेक्षा राख्छौँ ।
एआई प्रविधिमा आधारित तस्विर प्रशोधन, लाइभ क्याप्सन र एआर गेमहरूले भारी मात्रामा मेमोरी खपत गर्छन् । हाई-रिजोलुसन क्यामेराहरूले ठुला तस्विर खिचिरहेका हुन्छन्, त्यसका लागि पनि क्यामेरा एपले मेमोरीमा ह्यान्डल गर्नुपर्छ । १०८० मेगापिक्सेलको फोटो एडिट गर्दा वा लाइभ इफेक्ट्स सहित फोरके भिडिओ रेकर्ड गर्दा उल्लेखनीय मात्रामा र्याम चाहिन्छ ।
यति मात्र होइन अचेल त अन-डिभाइस एआईको जमाना पनि छ । सन् २०२३ मा अन-डिभाइस एआईको उदय भएपछि यसले फोन निर्माताहरूलाई थप र्याम राख्न गर्न प्रेरित गरिरहेको छ, ताकि यी एड्भान्स फिचरहरू बिना कुनै अवरोध चल्न सकून् ।
यस बाहेक प्रतिस्पर्धी स्मार्टफोन बजारमा नम्बर गेम नहुने कुरै भएन । २४ जीबी र्याम स्पेक विज्ञापनमा निकै प्रभावशाली लाग्छ र १२ जीबी भएको प्रतिस्पर्धीलाई सजिलै उछिन्न सक्छ । भलै अधिकांश प्रयोगकर्ताहरूका लागि त्यसले व्यावहारिक रूपमा खासै भिन्नता नै किन नराखोस् ।
Comments (1)
Leave a Comment